राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अंगमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले न्यायालयदेखि बैंकसम्म दलहरूबीच भागबन्डा चलेको बताएकी हुन्।
'न्यायलय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदुत, राष्ट्र बैंक कहीँ पनि मेरिट र काबिलियतको कदर छैन। यस्तो अवस्थामा आदर्शका मिठा कुरा गरेर नीति कार्यक्रममा छलफल गर्नुको के नै अर्थ रहन्छ र ?,' उनले भनिन्।
उनले हरेक वर्षको सिद्धान्त र प्राथमिकतामा कृषि, उर्जा, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको प्रतिवद्धता जाहेर गरिने तर कार्यान्वयनसम्म कहिल्यै नपुग्ने बताइन्।
सांसद कार्कीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको विदेश गएर उपचार गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्ने नीति ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।