प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई रूखो वचन नबोल्न आग्रह गरेका छन्।
गत फागुनदेखि वैशाखसम्म अधिवेशनबाट निर्वाचित भएका जनसंगठनका इन्चार्ज, पदाधिकारीहरूलाई मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई दिँदै उनले कार्यकर्तालाई हप्काइदप्काइ नगर्ने भनेका हुन्।
‘तपाईंहरू विचारमा प्रतिबद्ध र अनुशासनमा कठोर बन्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रूखो वचन बोल्ने काम नगर्नुहोस्। यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन। तपाईंहरूले साथी बनाउने, साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस्।’
कुनै बेला जनसंगठनहरूलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्रै संघर्ष गर्नुपरेको सम्झँदै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले एमालेका कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेको बताए।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैलाएका भ्रम चिर्न जनसंगठनलाई निर्देशन दिए।
‘सामाजिक सञ्जालमा ताल र सुरबिनाका पिपिरी बाजा बजाउनेहरूलाई जबाफ दिनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठूलो पंक्ति एकपटक सक्रिय हुने हो भने विरोधीहरू आफै हराउँछन्।’
प्रधानमन्त्री ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरूले सक्रियता बढाउनुपर्ने पनि बताए। समय सापेक्ष रूपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनको भनाइ थियो।
प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार पार्टीका विरूरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशिल हुनुपर्ने धारणा राखे।
एमाले र नेतृत्वका विरुद्ध सञ्चालित सम्पूर्ण अफवाहलाई आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले भनाइ थियो।
‘५५ वर्षअघि विभिन्न विचार समूहलाई एकगठ बनाएर एमालेको जग बसाइएको हो। अहिले एमाले फैलिएर जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ।’
गत फागुन यता मानव अधिकार एलाइन्स, नेपाल उद्योग तथा व्यवसाय महासंघ, प्रेस चौतारी, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ, भूमि अधिकार तथा श्रमिक संगठनको राष्ट्रिय अधिवेशन भएका छन्। ती जनसंगठनका प्रमुख र इन्चार्जहरूलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर बधाइ दिएका हुन्।