राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
उनले दस वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए।
उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्ने गरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए।
उनले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरू नेता तथा व्यवस्थाको विरूद्धमा रहेको जिकिर गरे।
उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताए।
उनले दलहरूले समयमै सचेत भएर जनगुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए।
देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उनको भनाइ छ।
उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौं भन्ने हामीलाई लाग्या छ। कति समयसमम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन। तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो। कसैले रोक्न सक्दैन। कसैले रोकेर रोकिएर भए पनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठूलो नोक्सानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ। नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुद राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवाद उन्मुख सबै नेताहरूको मुखमुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन।’
उनले अगाडि भने, ‘गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ इमानदारीका साथ भन्नुस् हाम्रोविरूद्ध चर्चा छ, यो व्यवस्थाको विरूद्ध चर्चा छ। त्यसले गति लिइरहेको छ। त्यो गति एकदिन विष्फोट हुन्छ हामी सबै समाप्त हुन्छौं। त्यसो भएर मौका छ केही समय। यो व्यवस्था ल्याउने नेपाली कांग्रेस र कम्युनिष्ट नै हुन् एकतावद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद। ढिला नगरी हामीले त्यो काम सुरू गर्नुपर्छ।’
राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनै पनि नेताहरूले त्यस बारेमा अध्ययन नगरेको गुनासो गरे। –न्युज एजेन्सी नेपाल