प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि मुछिएको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मिसिल झिकाउन आदेश दिएको छ।
उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिँदै आगामी बिहीबारका लागि पेसी तोकिएको रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए।
यसअघि उच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अन्जला कोइराला सहितका प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको माग अनिर्णित बनेको थियो।
एक साताअघि उमागौरी कृषि सहकारी रकम हिनामिना प्रकरणको पेसी स्थगित भएर बिहीबारलाई पेसी तोकिएको थियो।
कोइराला सहितका ६ जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको यसअघिको आदेश वेरितको भएको भन्दै सरकारी वकिल कार्यालयले थुनामा राख्न माग गर्दै उच्च अदालतका निवेदन दिएको थियो।
उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो।
सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा हाजिर भएकी थिइन्। उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन्। अरू पाँच जना भने पाँच–पाँच लाख धरौटीमा छुटेका थिए।
कोइरालासहित रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास, ज्योति बास्कोटा, लक्ष्मी देवी कार्की राजवंशी, सुमन लोहनी र सहकारीका पूर्वसञ्चालक मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा निवेदन परेको थियो। सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्।
एउटै मुद्दाका उस्तै आरोपीहरूमध्ये कोही थुनामा, कोही धरौटीमा छुटेको भन्दै सरकारी वकिल कार्यालयले जिल्लाको आदेश बदरको माग गरेको थियो।