प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहने कार्यसूची थियो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त छलफलमा उठेका प्रश्नकहरूको जबाफ दिने कार्यसूची थियो।
तर शून्य समयपछि कार्यसूचीमा प्रवेश गर्ने समयसम्म अर्थमन्त्री उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नियमापत्ति जनाएको थियो।
संसद नियमावलीले त्यस्ता विषयमा छलफल हुँदा मन्त्रीको उपस्थिती अनिवार्य हुनुपर्ने व्यवस्था गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए।
'राष्ट्र बैंक ऐन उल्लंघन गर्ने यहाँ सदनको नियमावली पनि उल्लंघन गर्ने। हामीले यो सदनलाई कसरी अगाडि बढाउन सक्छौं?,' उनले भने।
पाण्डेले त्यसो भनेपछि सभामुख घिमिरेले सगरमाथा संवादका कारण अर्थमन्त्रीले केही ढिला भएको र आफू आइरहेको जानकारी दिएको बताएर संसदको कार्यसूची अगाडि बढाउन आग्रह गरेका थिए।
'प्रि बजेटमा छलफल भइरहेको छ। अर्थमन्त्री नभए पनि अगाडि बढ्न सकिन्छ? उहाँ नआउन्जेल सदन चलाउन मिल्दैन,' जबाफमा प्रमुख सचेतक पाण्डेले भने।
त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।