नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल लमजुङको पाचौं अधिवेशनमा खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी गरिरहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहोराले पीडितका पक्षबाट जाहेरी दर्ता नभए पनि घटनाको दोषीलाई शनिबारदेखि नै खोजी गरिरहेको उनले बताए।
‘हामी जाहेरी पर्खेर बसेका छैनौं। घटनामा खुकुरी प्रहार गर्ने व्यक्तिहरु खोजिरहेका छौं,’ डिएसपी बोहोराले सेतोपाटीलाई भने, ‘जाहेरीका केही विषय नमिलेर पीडित पक्ष सच्याउन लैजानुभएको छ। जाहेरी पनि दर्ता हुन्छ।’
उनले उक्त घटनाको दोषीलाई पक्राउ गरी कारबाही गर्न राजनीतिक तहबाट कुनै पनि हस्तक्षेप नभएको पनि दाबी गरे।
लमजुङमा शनिबार तरुण दलको जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा एक पक्षले खुकुरी, रड, स्टेजमा राखिएको पानस, इट्टा लगायत प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणमा परी ५ जना घाइते भएका थिए। घाइतेमध्ये बेसीशहर– ९ का वडाध्यक्ष एवं तरुण दल लमजु ‘ख’का क्षेत्रीय सभापति खुशीजंग गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्। उनीहरुको जिल्ला अस्पताल बेसीशहरमा प्राथमिक उपचार पश्चात थप उपचार गर्न चितवन मेडिकल कलेज रिफर गरिएको डिएसपी बोहोराले जानकारी दिए।
अन्य घाइतेहरु शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको भने जिल्ला अस्पतालमै उपचार गरेर डिस्चार्ज भइसकेका छन्।
घाइतेका तर्फबाट इन्दु अधिकारीले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी बुझाउन लगेकी थिइन्। उनको जाहेरीमा त्रुटी भएकोले सच्याउन लगेको डिएसपी बोहोराले बताए। उनले बुझाउन लागेको जाहेरीमा तरुण दल लमजुङका उपाध्यक्ष रहेका मर्स्याङ्दी गाउँपालिका– ५ का भूपेश गुरुङ, मध्यनेपाल नगरपालिका– ७ का धनबहादुर तामाङ र राइनास नगरपालिका– ६ का गणेश गुरुङलाई दोषी किटान गरेको छ।
तरुण दल लमजुङका सभापति ललित गुरुङ लामो समयदेखि हङकङमा छन्। पोखरामा गुण्डागर्दी पृष्ठभूमिका गुरुङ जिल्ला फर्किएर अधिवेशन गराउन नसक्ने भएपछि उपसभापति भूपेश गुरुङको अध्यक्षतामा शनिबार अधिवेशन आयोजना गरिएको थियो।
अधिवेशनमा प्रमुख अतिथि तरुण दलका पूर्व केन्द्रीय सभापति एवं राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत थिए। अधिवेशनमा केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, कांग्रेस लमजुङका सभापति एवं गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङ लगायत उपस्थित थिए।
जिल्लामा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष र शेखर कोइराला–गगन थापा समूहबीच लामो समयदेखि विवाद छ। सोही विवादका कारण तरुण दलको अधिवेशनमा प्रतिनिधी छनौट विवादले चर्किएर खुकुरी हानाहान भएको नेताहरुले बताएका छन्।
प्रतिनिधी छनौटमा देउवा पक्षले एकलौटी गरेको, तरुण दलका क्षेत्रीय सभापतिलाई नै सदस्यता नदिएको लगायत आरोप शेखर–गगन पक्षले लगाएको छ भने देउवा पक्षले अधिवेशन भाड्न खोजेकाले घटना भएको बताएको छ।
घटनामा घाइते भएकाहरु सबै शेखर–गगन पक्षका हुन्। शेखर–गगन समूहको नेतृत्व कांग्रेस लमजुङका पूर्व सभापति एवं गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गरेका छन् भने देउवा समूहको नेतृत्व जिल्ला सभापति एवं गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले गरेका छन्।