नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा हिमताल फुटेर आएको लेदोसहितको पहिरोको जोखिममा रहेकाहरूलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लेदोसहित पहिरोका कारण ३३ जना स्थानीय उद्धारको पर्खाइमा रहेको तर अहिलेस्म सरकारको उपस्थिति नभएको कुराले अझै गम्भीर बनाएको बताएका हुन्।
'तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनेका छन्।
हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई पनि अध्यक्ष प्रचण्डले निर्देशन दिए।
अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको बैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन पनि सरकारलाई गरे।
तिलगाउँमा यही जेठ १ र २ गते लेदोसहितको पहिरो जाँदा १८ घरधुरी जोखिममा परेका छन्। जेठ १ गते मध्यराति साढे ११ बजेदेखि बिहान ५ बजेसम्म लेदोसहितको पहिरो आएको थियो
सो गाउँमा ५० घरधुरी छन्। तीमध्ये १८ घरधुरी जोखिममा रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ती घरका २१ जना महिला, ९ जना पुरूष र दुई जना बालक गरी ३२ जना उच्च जोखिममा रहेको खुलेको छ।
उनीहरू अहिले गाउँभन्दा पारि खुला चौरमा त्रिपाल लगाएर बसोबास गरिरहेको डिएसपी थापाले बताए।