राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सुरू भएको छ।
६ पटकसम्म हेर्न नमिल्नेमा परेको लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।
लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको पनि रिट एकसाथ राखिएको छ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।
त्यसअघि न्यायाधीश आइतबार (जेठ ४ गते) न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले पनि हेर्न नमिल्ने भएको थियो। पटकपटक हेर्न नमिल्ने भएपछि उक्त इजलासले हेर्न नमिल्ने बाहेकले गोला तान्न आदेश दिएको थियो। तर पनि सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासले हेर्न नमिल्ने भएको थियो।
सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन।
वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।
वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए।
त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो।
उच्च अदालतको आदेशसँगै चैत २२ गते नै साँझ काठमाडौंस्थित हात्तीगौडा निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी रूपन्देही पुर्याएर कारागार चलान गरेको थियो।