मन्त्रिपरिषदको बैठक मंगलबार अपराह्न बस्ने भएको छ।
सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार अपराह्न ५:३० बजे मन्त्रिपरिषद बैठक बस्नेछ।
उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ।
मंगलबार अपराह्न ४ बजेपछि उक्त बैठक बस्नेछ। यो बैठकले गभर्नरका लागि नाम सिफारिस गरेमा आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ।
गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ। उक्त सिफारिसका आधारमा मन्त्रिपरिषदले गभर्नर नियुक्ति गर्नेछ।
आजै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।
गभर्नरमा सभापति देउवाले विश्व पौडेलको नाम अघि सारेका छन्।