नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले पुल बनाउने काम समयमा सम्पन्न नगरेको भन्दै निर्माण व्यवसायीलाई खोलामा गाड्ने धम्की दिएका छन्।
बारास्थित पर्सौनी र कलैया जोड्ने बंगरी नदीमाथि पुल बनाउन १३ वर्षअघि ठेक्का लागेको थियो। तर अहिलेसम्म पुल निर्माण काम सम्पन्न नभएपछि सांसद श्रेष्ठले असन्तुष्टि जनाएका हुन्।
यो पुल निर्माणको काममा ढिलाइ भएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरूप्रसाद अधिकारी र सांसद श्रेष्ठलगायतको टोली मंगलबार निरीक्षणमा पुगेका थिए।
पुल निर्माणको जिम्मा इलाइटमोना जेभीले लिएको थियो। निर्माण व्यवसायी मुकेश चौरसियालगायत पनि फिल्डमै थिए। त्यसैबेला सांसद श्रेष्ठले अबको १५ दिनभित्र पुल निर्माण नगरे खोलामा गाड्ने चेतावनी दिएका हुन्।
सेतोपाटीसँगको कुराकानीमा सांसद श्रेष्ठले १३ वर्षदेखि पुल निर्माण नभएकोले आफूले निर्माण व्यवसायीलाई १५ दिनभित्र पुल निर्माण सक्न भनेको बताए।
‘यो पुल १३ वर्षदेखि निर्माणाधीन छ, अहिले त काम ९९ प्रतिशत सकिएको छ भनेका छन् तर केही समयदेखि काम नै नभएको पाइयो, यहाँ मोटरसाइकल दुर्घटना भएर मानिस घाइते भए, त्यसको उपचार पनि मैले नै गर्नुपर्ने भयो,’ सांसद श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यसैकारण मैले ठेकेदारलाई अलि कडा स्वरमा १५ दिनभित्र पुल बनाइसक्न भनेको हुँ, काम नसके खोलामा गाड्छु पनि भनेको हुँ। ठेकेदारसँग कुनै विवाद भएको थिएन, म अलि कडा बोल्छु, विचरा ठेकेदारहरू!’
पुलछेउमा दायाँबायाँ ग्याबिनलगाउने र माटो भर्ने काम बाँकी रहेको उनले बताए। पुल भने बनिसकेको छ। उनले पुल निर्माण कार्य छिटो होस् भनेर आफूले सापटीमा सामानसमेत उपलब्ध गराएको सुनाए।
‘२०७९ को प्रतिनिधि सभा चुनाव लड्नुअघि प्रचारप्रसारमा जाँदा मलाई स्थानीयले अलपत्र पुल देखाए। मैले त्यहीँबाट ठेकेदार र सडक डिभिजन प्रमुखसँग कुराकानी पनि गरेको थिएँ। ठेकेदारले ६ महिना समय मागेका थिए, तर मैले ६ महिना समय थपेर एक वर्षभित्र म पुल उद्घाटनमा आउँछु भनेर स्थानीयलाई आश्वासन दिएँ, तर अहिलेसम्म पुल बनेन, मसँग ठेकेदारलाई कडा चेतावनी दिनेबाहेक अरू उपाय नै बाँकी रहेन,’ उनले भने।
उक्त पुल १३ वर्षअघि करिब ६ करोड रुपैयाँमा ठेक्का लागेको पनि उनको भनाइ छ।