नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिको मंगलबार अपराह्न बसेको बैठकले गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको हो।
समितिमा अर्थविद् पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी छन्।
समितिले गभर्नरमा अर्थविद् विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
समितिले मन्त्रिपरिषदसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो। अहिले बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ। सम्भवत: आज गभर्नर नियुक्त हुनेछ।
गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुँदा देउवाले गभर्नरमा अर्थविद् पौडेलको नाम प्रस्ताव गरेका थिए भने प्रधानमन्त्रीले सहमति जनाएका थिए।
उक्त बैठकमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सो छलफलपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका थिए।
गभर्नर नियुक्तिमा ढिलाइ हुँदा सरकारको आलोचना हुँदै आएको छ।