नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन्।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन्।
समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए। त्यसपछि उनीहरूबीच भनाभन पर्यो।
‘उहाँ ढिला आउनुभयो। अनुमतिबिनै बोल्न सुरू गर्नुभयो। माइक फाल्नुभयो। धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो। उहाँ अनुगमनमा गएको विषय उठाउन खोज्नुभएको थियो। तर बैठक टुङ्गिन लागेको बेला एकदमै रिसाएर प्रस्तुत हुनुभयो’, सभापति साहले भने, ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषय थियो।’
सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको दाबी गरिन्।
अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्।
उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन्।
‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ। अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ।’
उनले महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको बताइन्।
‘हरेक अनुगमनमा संयोजक आफै भएर जानुहुन्छ। पिएसएओदेखि सबै हुन्छन्। इस्युमा बैठक राख्नुहुन्न’, कुसारीले भनिन्, ‘बाहिर एनजिओ र आइएनजिओ मिलाएर घुम्न जाने गर्नुहुन्छ।’
आफूले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको कुसारीले बताइन्।