सर्वोच्च अदालतले राप्रपा प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ।
बुधबार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई हाजिर जमानीमा छाड्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। आदेशसँगै केसी रिहा भइसकेका छन्।
उनी आफै भाग्न उम्किन सक्ने अवस्था नरहेको, प्रमाण लोप गर्ने अवस्था वा सम्भावना पनि देखिन नआएको हुनाले थुनामा राखिरहन जरूरी नदेखिएको आदेशमा उल्लेख छ।
‘थप अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था र मनासिव कारणसमेत खुलेको नदेखिँदा उनलाई कुनै माथवर व्यक्तिको जिम्मा हाजिर जमानीमा छोडी मुद्दाको बाँकी अनुसन्धान कार्य गर्नु गराउनु भनी विपक्षीहरूको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
केसीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाले हिल्टन होटलको सेयर किनेकोबारे फेसबुकमा स्टाटस लेखेका थिए।
तर हिल्टन होटलले विज्ञप्ति निकालेर कसैले पनि सेयर खरिद नगरेको उल्लेख गरेको।
त्यसपछि साइबर ब्युरोले गत शुक्रबार उनलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न म्याद अनुमति समेत लिएको थियो।
तर उनलाई पक्राउ गर्नुपर्ने कारणबारे भने साइबर ब्युरोले खुलाएको थिएन। ब्युरोले केसीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको दाबी सहित हिरासतमा लिएको थियो।
त्यसविरूद्ध उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशसँगै केसी रिहा भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।