लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ अस्पतालको विकास समितिमा सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी भागबन्डा गरेका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबर ७/७ अस्पतालको समिति भाडबन्डा गरी विकास समिति चयन गरेका हुन्।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्र लामिछाने चयन गरिँदा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त गरिएका छन्। लामिछाने मानव अधिकार तथा शान्ति समाज लगाएतका बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् भने श्रेष्ठ यो भन्दा पहिला पनि विकास समितिको अध्यक्ष थिए।
त्यस्तै भालुवाङ अस्पताल दाङमा एमालेका सूर्यप्रकाश शर्मा, रुकुम पूर्व अस्पतालमा कांग्रेसका लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेका जगदीश चौधरी, प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसका शेरबहादुर थापा, रामपुर अस्पताल पाल्पामा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा कांग्रेसका अजयमान कर्माचार्य, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा, भीम अस्पताल भैरहवामा कांग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्ष बनाइएका छन्।
प्रमुख सत्ता साझेदार दुई दलको भागबन्डामा १४ अस्पतालहरुमा विकास समिति छिनोफानो भइ सकेको भएपनि आधिकारिक रुपमा सार्वजनिक भने गरिएको छैन।
आइतबारसम्म विकास समितिमा नियुक्त भएकाहरुलाई नियुक्ती पत्र दिइने स्रोतले बताएको छ।
दाङ र रुपन्देहीका दुई वटा आर्युवेद अस्पतालको विकास समितिमा भने निर्णय हुन बाँकी छ।
यसअघि २०८० कार्तिक ७ गते तत्कालीन सत्ता साझेदार प्रमुख दलहरु एमाले र नेकपा (माओवादी केन्द्र) भागबन्डा गरी अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गरेका थिए।
सत्तासमीकरण फेरिएसँगै हाल त्यो नियुक्त खारेज गरी प्रदेश सरकारले वैशाख १६ गते १४ वटौ अस्पताल विकास समिति खारेज गरेको थियो।
चैत महिनामै प्रमुख सत्तासाझेदार दलहरुबीच यो सहमति भइसकेको भए पनि प्रदेश सरकार मन्त्री परिषदको बैठक बस्न ढिलाइ भएका कारण अघिल्लो विकास समिति खारेज गर्न पनि बिलम्ब भएको थियो।
प्रदेशभर कुल १३ आयुर्वेद चिकित्सालय छन्। ती सबैमा पनि छिट्टै नियुक्तिको प्रयास हुने बताइएको छ।