गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा पूर्ण सहयोग रहने बताएको छ।
भिजिट भिसामा युवाहरूलाई विदेश पठाएर मोटो रकम असुलेको र त्यसमा गृहमन्त्रीकै संलग्नता भएको समाचारहरू सार्वजनिक भएपछि शनिबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यसको छानबिन अख्तियारले गरिरहेको र त्यसमा पूर्ण सहयोग हुने बताएको हो।
मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रीको कुनै पनि प्रकारको संलग्नता नरहेको पनि दाबी गरेको छ।
'पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य बेहोरा सबैको जानकारीमा आउने नै छ,' विज्ञप्तिमा भनिएको छ, 'आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने बेहोरा समेत जानकारीका लागि अनुरोध छ।'
अध्यागमन कार्यालयका कर्मचारीले मोटो रकम लिएर मानिसलाई विदेश पठाएको विषयमा अख्तियारले छानबिन गरेपछि गृह मन्त्रालयले त्यहाँको कर्मचारी सरूवा गरेको थियो।
गृह मन्त्रालयले बिहीबार अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ जनालाई सरूवा गरेको थियो।
अध्यागमन विभागमा रहेका नासुहरू प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा र नासु नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके सरूवा गरिएको थियो।
त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गतमा सरूवा गरिएको थियो।
त्यस्तै अन्य ६ जनालाई पनि गृहले अध्यागमनबाट तानेको थियो। यसअघि गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृहमा तानेको थियो। योसँगै गृहले अध्यागमन कार्यालयबाट १५ जनाको सरूवा गरिसकेको छ।
अध्यागमन कार्यालयले बिचौलियाको सेटिङमा रकम असुली गरी भिजिट भिसामा पठाउन सहजीकरण गरिदिएको घटनामा अख्तियारले अनुसन्धान थालेपछि गृहले ठूलो संख्यामा कर्मचारी हेरफेर गरेको थियो।
यो पनिः
सबै ठीक ढंगले छानबिन हुन्छ, म आएदेखि गलत भएको रहेछ भने राजनीतिमा देखा पर्दिनँ: गृहमन्त्री
गृहमन्त्रीले 'म पद छोडिदिन्छु छानबिन गर' भने हुन्छ: शेखर कोइराला
अख्तियारको अनुसन्धानपछि गृहले गर्यो विमानस्थल अध्यागमनका थप ८ जनाको सरूवा