राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिव रवीन्द्र मिश्रले चैत १५ गते आफू तीनकुनेमा भएको कार्यक्रममा अतिथिको रूपमा गएको बताएका छन्।
उनीविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध कसुर र एकीकृत कसुरमा सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
सरकारी वकिलले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
सरकारी वकिलसँगको बयानमा मिश्रले आफू तीनकुने घटनामा अतिथिको रूपमा मात्रै उपस्थित भएको बयान दिएका हुन्।
उनले त्यसदिनको कार्यक्रम आयोजक दुर्गा प्रसाईं रहेको उल्लेख गरेका छन्।
‘चैत १५ गतेको कार्यक्रम दुर्गाप्रसाद प्रसाई जीको समूहले गर्न लागेको र दुर्गाजीले नै आफूलाई जन-कमाण्डर घोषित गरिदिन अनुरोध गर्नु भएकोले चैत १४ गतेको पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले प्रसाईजीलाई जनकमाण्डर घोषित गर्नुभएको हो। १५ गते भएको तीनकुनेको कार्यक्रमको आयोजक दुर्गाप्रसाद प्रसाईजीकै समूह हो। नवराज सुवेदीजीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो र म त्यसै अनुरुप कार्यक्रम मञ्चमा पुगेका थिएँ,’ मिश्रले बयानमा भनेका छन्।
त्यसदिन भएका घटनाको पूर्वयोजनाबारे आफूलाई जानकारी नभएको पनि उनले बताएका छन्। उनले आपराधिक उपद्रव सम्बन्धमा थप बयानमा आफू अतिथिको रूपमा मात्रै उपस्थित भएको बताएका हुन्।
‘म सो कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन गएको विदित नै छ तर उक्त घटनाहरूको बारेमा मलाई पूर्व जानकारी थिएन। पछि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिई हाल मिसिल संलग्न कागजात र भिडियोहरू देखाइ पढी वाची सुनाउँदा थाहा पाएको हुँ। मैले उक्त मितिः र समयमा कोही कसैलाई विमानस्थलस्थित हवाई इन्धन डिपो, भन्सार कार्यालय तथा प्रहरी ब्यारेक समेतमा तोडफोड गर्न लगाएको अह्राएको छैन। सो सम्बन्धमा म अनविज्ञ छु। म संसद भवनतर्फ गएको पनि छैन र मैले कोही कसैलाई संसद भवन कब्जा गर्न जानु भनी प्रोत्साहन दिने अभिव्यक्ति दिएको पनि छैन। कार्यक्रमको आयोजक दुर्गा प्रसाई हो,’ उनले भनेका छन्।
त्यस्तै बयानको क्रममा देखाएका केही भिडिओहरूबारे पनि आफूले त्यहाँ भएका व्यक्तिलाई नचिनेको अभिव्यक्ति दिएका छन्।
यो पनि:
प्रहरीको सम्पर्कमा छैनन् हाजिरी जमानीमा छुटेका रवीन्द्र र धवलशम्शेर
तीनकुने घटनाको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको दुर्गा प्रसाईंको बयान