राप्रपाका महामन्त्री धवल शम्शेर राणाले तीनकुनेमा भएको राजावादीको कार्यक्रममा हिंसात्मक गतिविधि सुरू हुन अगावै आफू बच्नका लागि सुरक्षित ठाउँमा गएर बसेको बताएका छन्।
उनीविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध कसुरमा सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
सरकारी वकिलले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
उनले उक्त कार्यक्रममा अतिथिको रूपमा मात्र सभामा सहभागी भई मौका पाएमा सभालाई सम्बोधन गर्नका लागि आफू सहभागी भएको बयान दिएका छन्।
'कार्यक्रममा मञ्चमा बस्न लाग्दा एक्कासि अश्रुग्यासको धुँवा आएपछि मञ्चबाट ओर्लिएँ,' उनले बयानमा भनेका छन्, 'सुरूमा नवराज सुवेदीको गाडीभित्र करिब आधा घन्टा बसेँ। स्थिति अलि साम्य भएपछि सडकको उत्तरतर्फ रहेको गल्लीभित्र छिरी सोही स्थानमा रहेको रेस्टुरेन्टको सटरभित्र बसेँ।'
दुई घन्टासम्म सटरभित्रै बसेको थिए।
विभिन्न स्थानमा भएका तोडफोड र क्षति सम्बन्धमा सामाजिक सञ्जाल तथा समाचारहरू हेरेको थाहा पाएको उनले बताएका छन्। उनले आफ्ना नेताहरूले हिंसात्मक घटनाको लागि आह्वान गर्ने, भड्काउने तथा गौरकानुनी तरिकाले राज्य सत्ता कब्जा गर्ने कार्यहरू नगरेकोसमेत प्रहरीलाई बयान दिएका छन्।
त्यस दिन आएका युवा शक्ति, अनवरत तप्पर फौज, आरटिएफ, शिवन सेना नेपाललाई आफ्नो पार्टीले निमन्त्रणा गरेको होइन, उनीहरू स्वयम आफ्नो इच्छाले उपस्थित भएको उनको भनाइ छ।