राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतले सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भए पनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राखेको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, 'बेल सुनुवाइ' मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुन गई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकूल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरूको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरूका लागि चिन्ताको विषय बनेको उल्लेख छ।
‘सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले 'राजनीतिक प्रतिशोध' को रुपमा चित्रित गर्दै आएको छ। रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ। दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं 'प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान' को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश-विदेशमा रहेका आम नेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ,’ विज्ञप्तिमा उल्लेख छ।
साथै रास्वपाले यस अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै "भिजिट भिसा" मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै "प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ" भन्ने दृष्टान्त अनुरूप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको पनि झाले जानकारी दिए।
पार्टीले तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रूपमा कार्यक्रम गर्ने रास्वपाको निर्णय छ।
