लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने उद्देश्यले तयारी समिति गठन गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो।
दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत् मनाउने निर्णय गरेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पुर्याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउने प्रदेश सरकारले योजना बनाएको छ।
बैठकमा मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताएका थिए।
तीन दिने कार्यक्रम अन्तर्गत जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै जेठ १५ गते मूल समारोह अन्तर्गत जनसहभागितामा झाँकीसहित प्रभातफेरीको आयोजना गरिने भएको छ।
बिहान भालुबाङबाट सुरू हुने करिब पाँच किलोमिटरको प्रभातफेरी पछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान राखिएको छ। अन्तिम दिन जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिएको छ।
त्यस्तै, सञ्चार माध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तर्वार्ता तथा सामग्री प्रवाह गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।