सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न सहमतिको सम्भावना टरेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनअनुसार सहमतिमा नेतृत्व छान्ने अधिकतम प्रयत्न गरे पनि सम्भावना टरेको नेताहरूले बताएका छन्। मंगलबार बिहान मतदान हुने युवा संघका इन्चार्ज राजीव पहारीले बताए।
'युवा संघको नयाँ नेतृत्व सर्वसम्मत ढंगले छान्न अधिकतम पहल र प्रयत्न गर्दा पनि सफल हुन सकेन,' उनले भने, 'भोलि बिहान स्वच्छ ढंगले मतदान हुन्छ।'
सहमति गर्ने भन्दै आइतबार र सोमबार एमाले नेताहरू उम्मेदवारसँग छलफलमा जुटेका थिए। संघको अध्यक्षमा उम्मेदवारी दिएका क्षितिज थेबे र सुमन पुरी दुवैले उम्मेदवारी फिर्ता नलिने र निर्वाचनमा जान जोड गरेपछि नेताहरू पनि सहमत भएका हुन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेका इन्चार्ज पहारीले पार्टी अध्यक्ष ओलीबाट कुनै पनि प्रकारको निर्देशन, हस्तक्षेप र झुकाव नआएको दाबी गरे।
'युवा संघको इन्चार्ज म हुँ, प्रधानमन्त्रीबाट कुनै एउटाको पक्ष लिने गरी कुनै प्रस्ताव र दबाब आएको छैन,' उनले भने, 'कसैलाई समर्थन र विरोध पनि गर्नुभएको छैन।'
अध्यक्षका दाबेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षको दाबी गरिरहेका छन्।
एमाले स्रोतका अनुसार थेबेलाई पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासिचव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतको समर्थन छ।
पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।
सर्वसम्मत नेतृत्व छान्न पुरीलाई निर्देशन दिए पनि उनले चुनावमा जाने अडान राखेको युवा संघका एक नेताले बताए। ती नेताका अनुसार दुवै पक्षले शनिबारदेखि नै आ–आफ्नो पक्षमा नाराबाजी गर्न थालेपछि निर्वाचनको माहौल बनेको हो।
अध्यक्ष उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेसी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।
अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरूण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समितिमा चार सय जनाभन्दा बढीले उम्मेदवारी पेस गरेको संघका इन्चार्ज पहारीले जानकारी दिए।
निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सोमबार साँझ प्रकाशित भएको छ। इलेक्ट्रोनिक भोटिङ मेसिनमा उम्मेदवारको नाम इन्ट्री गरेर निर्वाचनमा जाने अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले बताए।
निर्वाचनमा जाने भएपछि अध्यक्ष मण्डलका तर्फबाट निर्वाचन समितिलाई सबै प्रक्रिया पूरा गर्न भनिएको उनले बताए।
'सहमति नहुने भएपछि हामीले निर्वाचन समितिलाई सबै काम ह्यान्डओभर गरिसक्यौं,' ढकालले भने, 'हाम्रो समन्वय आवश्यक पर्दा सहयोग गर्न अध्यक्ष मण्डलका तर्फबाट निरू बेबीपाललाई प्रतिनिधि तोकेका छौं।'
अध्यक्ष मण्डलका सदस्यमा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, इन्चार्ज राजीव पहारी, किरण पौडेल र निरू बेबीपाल छन्। निर्वाचन समितिका संयोजक एमाले निकट प्रगतिशील कानुन व्यवसायी संगठन कास्कीका अध्यक्ष मदनप्रसाद तिवारी छन्।
युवा संघको महाधिवेशनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी १ हजार ९३९ जना प्रतिनिधि सहभागी छन्।