नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताएका हुन्।
'पार्टीहरु पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरुको पञ्चायतीकरण, नेताहरुको राजातन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? धन कमाउनु,धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन,' उनले भने।
उनले गणतन्त्रवादी नेता र राजाका भारदारहरूको जीवनमा केही फरक नभएको पनि बताए ।
'तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्प्रमाइजका लागि विपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ,' उनले भने।-न्युज एजेन्सी नेपाल