सबैजसो राजनीतिक दलले घोषणा गर्न छाडिसकेको बन्द राजावादी समूहले सुरू गरेको छ।
राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेका हुन्।
'सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ (सोमबार) गते हामीले उपत्यका बन्द घोषणा गरेका छौं। उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्छु,' विज्ञप्तिमा भनिएको छ।
यो पनि पढ्नुहोस्-
पछिल्लो समय सबैजसो राजनीतिक दलहरूले नेपाल बन्द वा उपत्यका बन्दको घोषणा गर्न छाडिसकेका थिए। केही वर्षयता बन्द घोषणा भएको थिएन।
२०७७ सालमा माघ २२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालको समूहले आमहड्ताल घोषणा गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन कदम विरूद्धमा सत्तारूढ दलमै रहेको उक्त समूहले आमहड्ताल गरेको थियो।
त्यस्तै संवैधानिक निकायहरूमा पनि अध्यादेशमार्फत आफूखुसी नियुक्ति गरेको विरोधमा आमहड्ताल घोषणा भएको थियो।
त्यसपछि एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले विरोध प्रदर्शनको घोषणा गरे पनि आमहड्ताल, बन्द लगायत घोषणा गरेका थिएनन्।
'पछिल्ला केही वर्षयता राजनीतिक दलहरूले बन्दको घोषणा गरेका थिएनन्। राजावादी समूहले गरेको रहेछ। नेताहरू रिहा गरेपछि फिर्ता गर्लान् कि,' एक उच्च प्रहरी अधिकृतले भने।
अहिले राजतन्त्र पुनर्स्थापना माग गर्दै राजावादी समूहले उपत्यका बन्द घोषणा गरेका हुन्।
आइतबार समिति नेतृत्वको प्रदर्शनमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई नियन्त्रणमा लिएर अहिले छाडिसकेको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए।
'उहाँहरू सबै जना रिहा भइसक्नुभएको छ,' उनले भने।
समितिले नेताहरूलाई पक्राउ गरिएको भन्दै विरोध समेत जनाएको छ।
'शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्छौं,' सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेताहरूलाई पक्राउ गरिएको भन्दै राप्रपाले पनि विज्ञप्ति जारी गर्दै थप आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको थियो।
राप्रपा नेपालका कार्यकर्ताले भने अध्यक्ष थापाको रिहाइको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका थिए।
