काठमाडौंमा राजावादीको प्रदर्शनबाट नियन्त्रणमा लिइएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित ७ जनालाई प्रहरीले छाडेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार नियन्त्रणमा लिइएका ७ जनालाई छाडिएको हो।
राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र डा. राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूले भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रहरीले उनीहरूलाई प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका सात जनालाई छाडिएको भए पनि एक जनालाई हिरासतमै राखिएको एसपी बोहराले बताए। उनका अनुसार झालाई प्रहरीले हिरासतमै राख्न लागेको हो।
उनले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेको एसपी बोहराले बताए।
'आठ जना मध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको र डा. राजीव झालाई हिरासतमा राखिएको छ। झाले मापसे सेवन गरी भीडमा अपशब्द बोल्ने कार्य समेत गरेका थिए,' उनले भने।