संघीय संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न केही निष्कर्षहरू निकालेको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए।
रास्वपा सांसद मनिष झाले दिएको जानकारीअनुसार प्रतिपक्ष दलको बैठकको पहिलो चरण बैठक सकिएको छ।
‘उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको "भिजिट भिसा प्रकरण" सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने,’ निष्कर्ष निकालेको उनले बताए।
साथै आवश्यक छानबिन गर्नको लागि छानबिनको परिणाम नआएसम्म मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्ने कुरा पनि प्रतिपक्षी दलहरूको बैठकले निष्कर्ष निकालेको छ।
यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि प्रतिपक्षी दलहरूले बताएका छन्।
‘तीन बुँदे निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुनु भएको छ,’ उनले भने।