नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था वाइसिएल नेपालमा नयाँ नेतृत्व चयनका लागि सहमति प्रयास जारी छ।
तीन दिनदेखि जारी वाइसिएलको राष्ट्रिय सम्मेलनमा हालका उपाध्यक्ष केहरसिंह कुँवर, सचिवहरू गणेश शाही, डक्बर पुलामी कर्म, पुष्प ओली र नवराज ऐर लगायतले अध्यक्षमा दाबी गरिरहेका छन्।
मंगलबारदेखि नै सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल हुन सकेको छैन। यसरी दुई दिनदेखि जारी सहमति टुंगोमा नपुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखा, वाइसिएल अध्यक्ष सुबोध शेर्पाली सहितका नेताहरूलाई खुमलटारमा बोलाएर भेटेका छन्।
त्यसक्रममा अध्यक्ष प्रचण्डले एक जनाको नाममा सहमति नभए बिहीबार बिहानसम्ममा पार्टीले नै नयाँ नेतृत्व घोषणा गर्ने बताएको वाइसिएलका एक नेताले जानकारी दिए।
‘अध्यक्ष कमरेडले कि सहमतिमा अध्यक्ष गर्नुस् होइन भने पार्टीले नयाँ नेतृत्व घोषणा गर्नेछ भनेर नेताहरूलाई भन्नुभएछ,’ अध्यक्षमा दाबी गरिरहेका एक नेताले भने, ‘अहिलेसम्म भएको यत्ति हो। अरू केही प्रगति छैन।’
वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले अध्यक्षलाई खुमलटार पुगेर बन्दसत्रको सबै रिपोर्टिङ गरिएको जानकारी दिए।
‘हामीले उहाँलाई सबै रिपोर्टिङ गरेका छौं,’ उनले भने, ‘अध्यक्षले सहमतिमा जो अध्यक्ष बनाए पनि हुन्छ भन्नुभएको छ। यदि सहमति नहुने हो भने पार्टीले आफ्नो कुरा भन्छ भन्नुभएको हो। आफै घोषणा गर्छौ भन्नुभएको होइन।’