नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो सम्मेलनमा नेतृत्व चयनमा सकस देखिएको छ।
जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलन जेठ २० मै सक्ने तयारी भए पनि पाँच दिनसम्म नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन।
सहमतिमै नेतृत्व चयन गर्न भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्देशन दिएकाले ढिलाइ भइरहेको छ।
निवर्तमान अध्यक्ष सुवोध शेर्पालीका अनुसार पार्टी इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) र उपमहासचिव शक्तिबहादुर बस्नेत अहिले वाइसिएल अध्यक्षका आकांक्षीहरू मनाउन जुटेका छन्।
वाइसिएलमा १३ जना आकांक्षी थिए। अहिले ६ जनामा झरेका छन्।
‘पार्टी इन्जार्ज र उपमहासचिव सहमतिमै नेतृत्व चयन गर्न सहजीकरण गरिराख्नु भएको छ, उहाँहरूले आकांक्षीहरूलाई आज साँझ ६ बजेसम्मको समय दिनुभएको छ,’ उनले भने, ‘सहमतिमै नेतृत्व टुंग्याउँछौं।’
वाइसिएल अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, कर्म पुलामी, गणेश शाहीलगायत आकांक्षी छन्। त्यसमध्ये केहरसिंह र पुष्पमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना रहेको माओवादी नेताहरू बताउँछन्। अरूको व्यवस्थापनका लागि विधान संशोधन गर्नेसम्मको तयारी छ।
वाइसिएलको विधानमा ३५ पदाधिकारी, ३ आयोग र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। निवर्तमान अध्यक्ष शेर्पालीका अनुसार विधानसम्बन्धी प्रस्ताव हेरफेर हुन सक्छ, त्यसमा अहिल्यै छलफल भइनसकेको उनले बताए।
‘पहिले नेतृत्व टुंगो लाग्नुपर्यो, त्यसपछि बाँकी साथीहरूलाई मिलाएर लैजाने गरी व्यवस्था हुन्छ,’ उनले भने।
जेठ १८ गतेदेखि २३ गतेसम्म प्रज्ञा भवनमा सम्मेलन चलेको थियो भने अधिवेशन लम्बिँदै गएपछि आज अपराह्न सम्मेलन स्थल सारेर चाबहिल पुर्याइएको छ। नेतृत्वले सहमतिमै जोड दिएकोले निर्वाचन समितिले कार्यतालिका तीन पटकसम्म हेरफेर गरिसकेको छ।
वाइसिएल सम्मेलनमा १ हजार पाँच सय २२ जना प्रतिनिधि छन्।