राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार कारागार काठमाडौं ल्याउन खोजे पनि कारागार व्यवस्थापन विभागले रोकेको बताएको छ।
रास्वपाले सभापति लामिछानेलाई डिल्लीबजार ल्याउन आवश्यक पर्ने कागजात जुटाइसके पनि कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालय यसमा सकारात्मक नदेखिएको बताएको हो।
‘आफूले रोजेको ठाउँमा बस्ने कानुनी आधार छ भनेर हामीले कोसिस गरेको हो, तर कारागार व्यवस्थापन विभागले रोक्यो, यो कतै गृह मन्त्रालयले रोकेको त होइन भन्ने आशंका हामीलाई छ,’ रास्वपाकी नेता प्रतिभा रावलले सेतोपाटीसँग भनिन्, ‘अदालतले आवश्यक कागजात ल्याउन भनेपछि सबै कागजात जुटाएका पनि थियौं तर रूपन्देही कारागारबाट सभापतिज्यूलाई डिल्लीबजार कारागार ल्याउन सकिएको छैन।’
उनले अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको र त्यसमा बार्गेनिङका लागि यो विषय रोकिएको हुन सक्ने पनि बताइन्।
‘सभापतिज्यूलाई काठमाडौं ल्याउन हामीले कागजपत्र जुटाए पनि कारागार व्यवस्था विभागले रोक्यो, गृहले रोकेको पनि हामीलाई आशंका छ,’ उनले भनिन्, ‘अहिले भिजिट भिसा प्रकरणमा बार्गेनिङ गर्न यो विषय रोकेको त होइन? नत्र किन रोकियो त? राज्यले व्यक्तिको मानव अधिकारको पनि ख्याल गर्नुपर्ने।’
केही समयअघि जिल्ला कारागार कार्यालय रूपन्देहीले रवि लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको थियो।
रवि लामिछानेले नै आफूलाई डिल्लीबजार कारागारमा सार्न निवेदन दिएका थिए।
उच्च अदालतको बुटवल इजलासले चैत २२ गते रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा उच्च अदालतकै आदेशलाई सदर भएपछि उनी रूपन्देही कारागारमा छन्।
यो पनि: रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी