नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत ढंगले कमिटी चयन गर्न भन्दै नाम प्रस्ताव गरेको छ।
अध्यक्ष मण्डलका एक सदस्यले दिएको जानकारीअनुसार अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको छ।
उक्त नाम मंगलबारको बन्द सत्रको हलमा प्रस्ताव गरिएको हो।
अध्यक्ष मण्डलले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन्। उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष मण्डलका सदस्यसहितलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए।
तर अध्यक्षका आकांक्षी दीपक धामीले आफू अध्यक्षमै उम्मेदवारी दिने तयारीमा रहेको बताए।
‘बन्द सत्रमा मेरो नाम महासचिवमा प्रस्ताव गरियो भन्ने सुनेको छु, म चाहिँ अध्यक्षमै उम्मेदवारी दिने तयारीमा छु, अहिले छलफलमै छु,’ उनले सेतोपाटीसँग भने।
अध्यक्षका अर्का आकांक्षी प्रकाश पौडेलले पनि निर्वाचन प्रक्रिया तत्काल थाल्न अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका छन्।
‘अनेरास्ववियु २४ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया प्रारम्भ गर्न र चुनिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दछु,’ उनले भनेका छन्।