सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ।
मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले एनआरएनए नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताए।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उनले बताए।
‘गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दैछ। त्यसमा संविधानको भावना र संविधानको व्यवस्था बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार उपभोग गर्ने व्यवस्था त्यसले गर्छ। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विषयमा समेत त्यही विधेयकले व्याख्या गर्ने भएको कारण छिट्टै सम्मानित सदनमा प्रश्तुत गर्छौं। अहिले परराष्ट्र मन्त्रालयले यसको नेतृत्व गरिरहेको छ। अहिले यो विधेयक गृह मन्त्रालयमा समेत आएको छ, त्यसकारण यो विषयलाई यस विधेयकमा नराखौं,’ उनले भने।
गृहमन्त्री लेखकले गोर्खा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको समेत बताए।
गोर्खा सैनिकका मागहरूको सन्दर्भमा अझै छलफल र बहस गर्न जरूरी रहेको उनको भनाइ छ।
गोर्खा सैनिकहरूले उठाएको माग ऐनसँग नभइ संविधानसँग नै सम्बन्धित रहेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)