अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरूबाट आफ्ना अधिकारीहरूलाई फिर्ता बोलाउने तयारी गरेका छन्।
बुधबार राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशमा रहेका अमेरिकी नियोगका कर्मचारीहरुलाई फिर्ता बोलाउने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले फिर्ता गर्नुपर्ने कारण विस्तृतमा भनेका छैनन्। ती ठाउँहरुमा क्षेत्रीय तनावका कारण सुरक्षा चुनौती हुनसक्ने उनले बताएका छन्।
'ती ठाउँहरु खतरनाक हुन सक्छन्। उनीहरूलाई बाहिरिनका लागि हामीले सूचना दिएका छौं, अब के हुन्छ हेरौं,' ट्रम्पले पत्रकारहरूसँग भने।
रोयटर्सका अनुसार इराक, बहराइन र कुवेतस्थित अमेरिकी दूतावासहरूबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाउने तयारी अमेरिकी विदेश मन्त्रालयले गरिरहेको छ।
ती देशहरूबाट सेनाका परिवारलाई पनि स्थानान्तरण गर्न लागिएको रोयटर्सले जनाएको छ।
इरानसँग आणविक सम्झौता गर्ने ट्रम्पको प्रयास सफल हुन नसकेको अवस्था र इसराइलले इरानी आणविक भण्डारमा लक्ष्य गरेर आक्रमणको तयारी गरेका कारण अमेरिकाले आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रक्षा मन्त्री पिट हेग्सेथले मध्यपूर्वका विभिन्न स्थानबाट सैनिक परिवारका सदस्यहरूको स्वेच्छिक प्रस्थानलाई अनुमति दिइएको बताएका छन्।
'हाम्रा सैनिक र तिनका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। सेन्ट्रल कमान्डले मध्यपूर्वको तनावलाई नजिकबाट नियालिरहेको छ,' मन्त्रालयका एक अधिकारीले भने।
सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल कुरिलाले बिहीबार सिनेटमा जानकारी दिने भनिएपनि लस एन्जलसको तनावका कारण स्थगित गरेका छन्।
न्युक्लियर सम्झौता नभए ट्रम्प आफैले पनि पटकपटक इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। उनले बुधबार नै एक पोडकास्टमा इरानसँगको सम्झौताको सम्भावना निकै कम देखिएको बताएका थिए।
बुधबार नै इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेले अमेरिकासँगको आणविक वार्ता असफल भए र द्वन्द्व भड्किए अमेरिकाले ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए।
'उसका सबै अखडा इरानी सेनाको पहुँचमा छन् र हामी तिनलाई निशाना बनाउन हिचकिचाउने छैनौं,' उनको भनाइ उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।