राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलनको जारी रहेको बताएका छन्।
राजा महेन्द्रवीरविक्रम शाहको १०५ औ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताए।
उनले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गरे।
उनले भने, 'कतिपय साथीहरूलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा छ। आन्दोलन अब असफल भएको हो कि, तुहिएको हो कि भन्ने चिन्ता रहेको हामीले पाएका छौँ। म बढो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, केही व्यक्ति विशेषले चाहँदैमा, नचाहँदैमा अब यो जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन। आन्दोलन जारी छ।’
अध्यक्ष थापाले केही कमीकमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गरे।
‘हाम्रा केही कमीकमजोरीहरू रहे, त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउँछ। कोही कसैलाई भ्रम पनि नहोस्। यो संयुक्त जनआन्दोलन समितिमा रहेका केही दल र केही समूहहरू विस्तारै अलग हुन थालेको हो कि, निष्क्रिय हुन थालेको हो कि, सम्पूर्ण यो आन्दोलन समितिमा रहेका दल र समूह एकताबद्ध रहेका छन्। यो एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन। त्यो अहिलेको यथार्थ हो,' उनले भने।
उनले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए।– न्युज एजेन्सी नेपाल