नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताएका छन्।
शनिबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताउँदै ती छुट्टाछुट्टै विषय रहेको बताएका हुन्।
'अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। त्यस्तो होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन,' अध्यक्ष प्रचण्डले भने।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप लगाएका थिए।
उनले देश र जनताको बृहत्तर हितको निम्ति तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको बताए।
'जनताको हितका लागि कहिले अघि बढ्ने कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले विद्रोह गर्ने यो सधैँ चलिरहन्छ,' उनले भने।
उनले संघीय निजामति, विद्यालय शिक्षा लगायतका थुप्रै विधेयहरुलाई अन्तिम रूप दिएर पारित गर्नुपर्ने भएकाले ती सबैलाई हेरेर तत्काललाई सहमति गरिएको बताए। सहमति गर्दा माओवादीले भिजिट भिसाको विषय छाडेको नहुने उनले बताए।
'भिजिट भिसामा भएको वा अध्यागमनमा भएका कुराहरुको छानबिनका लागि भनेर त अध्ययन छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र अगाडि बढाउने भनिएको छोडेको हुन्छ?,' उनले भने।
अध्यक्ष प्रचण्डले माओवादीले भिजिट भिसाको विषय गम्भीर भएको र यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित नरहेको बताए। यसमा अरू प्रतिपक्षी दलहरूले के के बोले भन्ने विषयमा उनीहरू नै जिम्मेवार हुने प्रचण्डको भनाइ छ।
'सुशासनको निम्ति छानबिन हुनुपर्यो। गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो। त्यो कुरामा सहमति भएपछि अहिलेको आवश्यकताअनुसार गरेका हौं,' उनले भने, 'विगतमा पनि यसरी नै सहमति गर्ने गरिएको छ। गम्भीर संवेदनशील देखियोस् भनेर हस्ताक्षरसहित सहमति गरेका हौं।'
उनले सम्झौता उधारो देखिए एक महिनापछि लड्ने पनि बताए।
संसदमा गरिएको अवरोध गलत नभएको पनि प्रचण्डले बताए। 'अवरोध गरेर विरोध गरेको भएर त सरकार समिति बनाएर छानबिन गर्नेमा सरकार आउनुपर्यो। त्यो नगरेको भए त्यस्तो हुँदैनथ्यो,' उनले भने।
'अहिलेको आवश्यकताअनुसार ऐनहरू अगाडि बढाउन अवरूद्ध गर्दा झन् अफ्ठ्यारो पर्ने भयो त्यसकारण सरकार यदी अध्ययन छानबिनमा तयार हुन्छ भने र एक महिनाभित्र समिति बनाउन तयार हुन्छ भने हामीले सहयोग गर्नुपर्छ भन्ने हो,' उनले अगाडि भने।
यद्यपि माओवादीको सरकारमा जाने तयारी नरहेको भने प्रचण्डले प्रष्ट पारे।
'हाम्रो सरकारमा जाने तयारी होइन। कांग्रेससँगको सम्बन्ध सुमधुर हुन्छ कि हुँदैन, छानबिन र अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा हो,' उनले भने।