इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने धम्की दिएको छ।
उसले इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इसराइललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ।
इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ।
इसराइलसँगको संघर्षमा बीचमा कोही आए उनीहरूको सैन्य संरचनामा पनि हमला गर्ने भनेर इरानले धम्की दिएको गार्डियनको समाचारमा उल्लेख छ।
शुक्रबार इरानले इसराइलमाथि प्रहार गरेको ड्रोन अमेरिकाले खसालेको बताएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलमा लक्ष्य गरेर इरानबाट भएका हमलालाई अमेरेकी एयर डिफेन्स सिस्टमले नष्ट पारेको बताएका थिए।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि इसराइललाई इरानी हमलाबाट जोगाउन प्रतिरक्षामा सघाउने भनेका थिए।
बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले भने दुई देशबीचको आक्रमण रोकिनुपर्ने बताउँदै आएको गार्डियनले लेखेको छ। उनले इसराइललाई कुनै पनि प्रकारको सहयोग नगरेको पनि बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने इरानमाथि इसराइलले हमला गरेको दिन त्यसमा अमेरिकाको कुनै संलग्नता नहुने बताएका थिए।
उनले अमेरिकाको संलग्नता नहुने भएकाले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हमला नगर्न इरानलाई चेतावनी समेत दिएका छन्।
शनिबार इरानले इसराइलमाथि जबाफी हमला गर्दा केही मानिसहरूको मृत्यु पनि भएको छ। इसराइली सेनाकै केही कर्मचारी घाइते भएको र भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिएनएनले आपतकालीन प्रतिक्रिया एजेन्सी म्यागेन डेभिड एडोमलाई उद्धृत गरेर तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको र १९ जना घाइते भएको उल्लेख गरेको छ।
योसँगै इसराइलमा इरानी हमलामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि तेल अभिभको पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो।
रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।
त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इसराइली सैन्य अधिकारीहरूले बताएका छन्।
एक जना प्रहरी प्रवक्ताले ती महिलाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। त्यहाँबाट अरू घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
घटनास्थलमा आपतकालीन उद्धार अधिकारीहरू खटिएका छन्।
राजधानी तेल अभिभ र जेरूसलेममा शुक्रबार राति विस्फोटका ठूला आवाज सुनिएको भनेर स्थानीयहरूले बताएका छन्।
‘हामी घर फर्कँदा सिसाका ट्क्राहरू छरपस्ट थिए। हामीले हाम्रो अपार्टमेन्ट जलिरहेको देख्यौं। केही बेरमा भवनको केही भागहरू भत्केर खस्न थाले। त्यहाँ विद्युत पनि अवरूद्ध छ। मानिसहरु भवनभित्रै अड्किएका छन्,’ तेल अभिभवासी एक पुरूषले सिएनएनसँग भनेका छन्।
इसराइलका विभिन्न अस्पतालहरुमा पनि घाइतेहरुको उपचार भइरहेको भनिकएको छ। कम्तिमा ३४ जना घाइते रहेको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इसराइली अधिकारीहरुले पनि शुक्रबार राति मात्रै इरानले एक सय ब्यालिस्टिक मिसाइल इसराइली शहरहरूलाई लक्ष्य गरेर प्रहार गरेको बताएका छन्। तीमध्ये अधिकांश मिसाइलहरू एयर डिफेन्स सिस्टमले निस्तेज पारेको त्यहाँका सैन्य अधिकारीहरूले बताएका छन्।
यद्यपि रमत गान र तेल अभिभमा धेरै भवनहरूमा क्षति पुगेको बताइएको छ।
इसराइलको आणविक कार्यक्रमका क्षेत्रहरूमा भने क्षति नपुगेको विज्ञहरूलाई बताएको भनेर रोयटर्सलेले लेखेको छ।
इसराइलले शुक्रबार बिहान इरानमाथि भीषण आक्रमण गरेपछि देशभर आपतकाल घोषणा गरेको थियो। उसले विद्यालयदेखि अस्पतालसम्म बन्द गरेको थियो। राति देखि नै देशभरका एयर डिफेन्स सिस्टम सक्रिय गराएको थियो।
त्यसअघि उसले इरानको सैन्य संरचना, हवाइ अड्डा, आणविक हतियार बनाउने वैज्ञानिकहरूको मृत्यु हुनेगरी इरानमा आक्रमण गरेको थियो।
इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।
बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।
त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।
मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।
हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।
इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको परमाणु कार्यक्रम निष्क्रिय नपारून्जेल हमला जारी रहने बताएका छन्।