प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति तत्काल बनाउनुपर्ने अडान राखेर रास्वपाले संसद अवरूद्ध गर्दै आएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सदन खोल्न तयार भए पनि रास्वपाले भने अवरोध जारी राख्ने शुक्रबारको बैठकमा घोषणै गरेको थियो।
गृहमन्त्रीले जबाफ दिँदा रास्वपा सांसदहरूले वेल घेरेर नाराबाजी गरेका थिए। राप्रपा भने आफ्नो सिटमा बसेको थियो।
आइतबार संसद बैठक सुरू हुनुअघि रास्वपा र राप्रपा दुवै दल बानेश्वरमा छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका हुन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको संसदीय दलको अनौपचारिक छलफल भइरहेको जानकारी दिए।
'संसदमा के गर्ने भन्ने विषयमा रणनीति बनाउन आन्तरिक छलफलमै छौं,' उनले सेतोपाटीसँग भने।
दुई प्रतिपक्षी दलहरुबीच छलफल चलिरहेका कारण संसद बैठक पनि केही ढिला गरी बस्ने भएको छ।
बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक साढे ११ बजे बस्ने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।