राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन्।
सभामुख र प्रमुख सचेतकहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विरोधका कार्यक्रम जारी रहने बताएका हुन्।
'छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ। गृहमन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ,' उनले भने।
शाहील शुक्रबार गृहमन्त्रीले संसदमा धम्कीपूर्ण भाषा प्रयोग गरेको पनि बताए।
‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ,' उनले भने।
उनले माओवादी केन्द्रले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने पनि स्पष्ट पारे। —न्युज एजेन्सी नेपाल