सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको आइतबारको बैठकमा चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८२ लाख ६ हजार रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।
उनका अनुसार अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरिएको छ। विनियोजित कुल बजेटको चालूतर्फ ३०.४९ प्रतिशत, पुँजीगततर्फ ५९.२५ प्रतिशत हो।
आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ। त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत् ८ करोड र नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ९२ करोड ५६ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ७ अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख रूपैयाँ रहेको छ।