नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मन्त्री र नेताका बुवाआमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको जिकिर गरे।
दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाए सांसद ज्वालाले।
कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरे।
साथै उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताए।
उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ। मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ। जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्। कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन्। केन्द्रमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ।’
बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप लगाए। – न्युज एजेन्सी नेपाल