प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले संसदमा निलो सल लगाउनु अमर्यादित नहुेन बताएकी छन्।
प्रतिनिधी सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा सांसद कार्कीले सल लगाउँदा संसदीय मर्यादा नतोडिने बताएकी हुन्।
‘हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह बौद्धिक क्रान्ति हो। रचनात्मक ढंगले सांकेतिक रूपमा खबरदारी गर्दा आवज उहाँहरूको सात्तोपुत्लो उडेको छ,’ उनले भनिन्, ‘हामी प्रश्न गर्न चाहन्छौं हामीले आज सल लगाएर आउँदै गर्दा कहाँ निर अभद्र भयो? हाम्रो आन्दोलन जारी छ।’
उनले आफूहरू हिंसाको पक्षमा नरहेको भन्दै अहिले शान्त विद्रोह गरेको पनि बताए।
सरकारले मौलिक हकलाई नै बेवास्ता गरी गिरोह बनाएर भिजिट भिसामा मानिसहरू पठाउने गरिएको बताएकी छन्।
‘यी तमाम हकलाई बेवास्ता गरेर जालो नै क्रिएट गरेर गृहमन्त्रालयको सचिवालय स्वयम् आवद्ध भएर अध्यागमन विभागदेखि ट्राभल एजेन्सी म्यानपावर सबैलाई तानिने गरी ठूलो गिरोह छ। यसमा छानबिन हुनुपर्यो, उच्चस्तरीय छानबिन समिति भनेका छौं,’ उनले भनिन्।
अहिले गृहमन्त्रीको सचिवालयमै रहेका व्यक्ति मुछिएका खबर आइरहेकाले सरकारले छानबिन गर्न नसक्ने भएकाले समिति बनाएर छानबिन गर्नुपर्ने अडान राखेको उनले बताइन्।
‘यो अवस्थामा सोही गृहमन्त्री पदमा बसिरहँदा स्वार्थको द्वन्द्ध हुन्छ कि हुँदैन। त्यसैले हामीले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्छ भनेर माग गरेका छौं। यो मागमा हामी अडिग छौं,’ उनले भनिन्।
मंगलबार संसदमा निलो खादा लगाएर उपस्थित भएको विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए।
उनले मर्यादित पोशाक लगाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।
‘उहाँहरू सबै स्कार्फ बाँधेर आउनुभएको छ। यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन? जे पनि लगाएर आउने गर्न थालियो भने भोलि कोही हाफ प्यान्टमा आए भने?,' उनले प्रश्न गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेको रास्वपाका सबै सांसदहरूले निलो सल लगाएर संसद पुगेका थिए।
उनीहरूले संसद सुरू भएपछि वेल घेरेर नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर संसद खोल्न तयार भए पनि रास्वपाले अवरोध जारी राखेको छ।
अवरोधको नयाँ शैलीबारे छलफल हुँदा तोसिमाले नै निलो रङको खादा लगाउने सकिने बताएकी थिइन्। उनले त्यसलाई मानव तस्करविरूद्धको संकेतका रूपमा पनि लगाइएको बताइन्।