नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेस भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गरेका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले समितिले चार दिनअघि सदनमा पेस गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरू समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए।
उनले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरूबीचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती गर्यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाए।
उनले भने, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले चार दिनअघि सदनमा प्रतिवेदन ल्याएको छ। यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालझेल, यसमा कुनै आशंका कसैले पाल्नुपर्ने र जालझेल षड्यन्त्र छ भन्नुपर्ने अवस्था छैन। सरकारले किन राख्नुपर्यो। सरकारको आफ्नो विधेयक जति भन्दा जति छिटो पारित गर्दा महत्वपूर्ण विधेयक पारित भयो भन्ने महत्वपूर्ण विषय हो। यसतर्फ राजनीति गर्न खोज्नु भयो त्यो राम्रो भएन। संसदको न्यूनतम अभ्यास जे छ, विधेयकहरू कसरी आउँछ? कसरी छलफलमा जान्छ? कसरी निष्कर्षमा पुग्छ? विभागीय मन्त्री अगाडि नआउँदा विधेयक अगाडि जान्छ कि जाँदैन। म यति कुरा भन्न चाहन्छु, चार दिन अगाडि संसदमा प्रतिवेदन आएको छ। हामी सबैले अध्ययन गरेका छौं। असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग संसद सचिवालयले समन्वय गर्छ र उपयुक्त दिनमा त्यो पारित हुन्छ।’
उनले अगाडि भने, ‘अर्को चाहना के हो भने यसमा प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूले बुझ्नुपर्छ। अहिले रास्वपाले संसदमा विरोध गरिरहनुभएको छ। विरोधका बाबजुद पनि संविधान बमोजिम विनियोजन विधेयक रोक्न सक्दैनौं। संविधान बमोजिमको काम गर्न सहमति भए पनि रोक्न मिल्दैन। यही विधेयकमा काम गरेका राजनीतिक दलहरूले विरोध राख्दै गर्दा यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने कुरा रह्यो। त्यसकारण दुई चार दिनपछि विरोधका कार्यक्रमहरू अवतरित हुने अवस्था बन्छ र उहाँहरू स्वयंले पनि यो विधेयकमा गरेको मेहनत सरकारले गरेका पहलकदमीमा धन्यवाद दिनुहुन्छ। हामी त्यही कुरा प्रतिक्षा गरिरहेका छौं।’
प्रतिपक्षको चाहनाप्रति रूचि नभएको भन्दै प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आफूहरूको चाहना रहेको स्पष्ट पारे। —न्युज एजेन्सी नेपाल