सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै संसदमार्फत छानविनको माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उनले बजेट विनियोजन ठिक भए/नभएको अध्ययन गर्न संसदीय समिति बनाउनुपर्ने नभए सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाउनुपर्ने माग गरे।
'यो मनपरी ढंगले जसरी विनियोजन गर्ने काम भएको छ त्यो दुखद् मात्र होइन खेदपूर्ण हो। मेरो गुनासो के हो भने तद्अनुरुप समान व्यवहार भयो कि भएन ? नयाँदेखि पुराना सबै माननीयहरुलाई बजेटले सन्तुलित गर्ने काम गर्यो कि गरेन ? मन्त्रीज्युहरु र शीर्ष नेताहरुको जिल्लामा राखिएको बजेट र पूरै देशको बजेट एक ठाउँमा राखेर तुलना गरौँ के स्थिति हुन्छ? यसमा छानविन गर्नुपर्छ,’ उनले भने।
संसदीय समिति हुन्न नभए सुशासन समिति वा लेखा समितिमा पठाएर पनि बजेटको छानबिन गर्न सकिने सांसद केसीले बताए।-न्युज एजेन्सी नेपाल