एमालेको ५३ औं सचिवालय बैठकले पाँच वटा प्रस्ताव पास गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बुधबार अपराह्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।
बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले मुलुकको बदलिँदो परिस्थिति, पार्टीको विधान अधिवेशन, सरकारका काम र बजेट सम्बन्धमा संक्षिप्त जानकारी गराएको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
बैठकले सरकारको एकवर्षे कार्यकालको संक्षिप्त समीक्षा गर्दै सरकार सन्तोषजनक ढंगले सञ्चालन भएको र यसले मुलुकको राजनीतिक स्थायित्व, अर्थतन्त्रलाई लयमा फर्काउन र जनभरोसा वृद्धि गर्न सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ।
साथै सरकार दुई पार्टीबीचको सम्बन्धलाई सुदृढ र बलियो बनाउन र प्रतिगामी हर्कतहरूलाई निस्तेज गर्न सफल भएको बैठकले ठहर गरेको छ।
'यसका अतिरिक्त सुशासन र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने कुरामा बैठकले जोड दिएको छ,' पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको छ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गर्न जिम्मेवारीहरू पनि सुम्पेको छ। जसअनुसार राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीलाई, विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई र संगठनात्मक प्रस्तावको जमि्मा महासचिव शंकर पोखरेललाई दिइएको छ।
उपर्युक्त प्रस्तावहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने पार्टीले जनाएको छ।
त्यस्तै पार्टीको पोलिटब्युरो बैठक २०८२ साउन २ गते र केन्द्रीय कमिटीको बैठक २०८२ साउन ५ गतेका लागि आह्वान गरिएको छ।
'२०८२ चैत मसान्तसम्मको पार्टी सदस्यता नवीकरणको कार्य सम्पन्न भइसकेको छ। नवीकृत सदस्यताको अभिलेखीकरणको काम यही असार मसान्तभित्र सम्पन्न गरिने भएकोले केन्द्रीय संगठन विभागमा अविलम्ब पठाउन मातहतका कमिटीहरूलाई बैठकले निर्देश गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन पनि फुकुवा गरेको छ।
त्यस्तै बैठकले वर्तमान सन्दर्भमा निम्न पाँच महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
१. इरान र इजरायलबीच चलेको दुईसाता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ। यो बैठक युद्धमा संलग्न इरान र इजरायल दुवैलाई युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, युद्धविरामलाई स्थायी रूपमा युद्धको अन्त्यमा रुपान्तरित गर्न आह्वान गर्छ। शक्ति राष्ट्रहरूलाई यस्ता द्वन्द्व नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न ध्यानाकर्षण गर्छ।
बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत ५ हजारभन्दा बढी नेपाली नागरिकहरूको जीवन र पेसागत सुरक्षामा समेत जोखिम पैदा गरेको छ। यो बैठक खाडी क्षेत्र र इजरायलमा कार्यरत नेपालीहरूको जीवन र पेसागत सुरक्षाका लागि आवश्यक समन्वय र प्रभावकारी कुटनीतिक पहलकदमी गर्न नेपाल सरकारलाई आग्रह गर्छ।
२. भिजिट भिसाको दुरूपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसदभित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानबिन गर्न सरकारले ‘उच्चस्तरीय अध्ययन एवं छानवीन समिति’ बनाउनु सकारात्मक छ। सरकारको यस प्रतिबद्धताका बाबजुद संसदमा केही प्रतिपक्षी दलबाट निरन्तर अवरोध, नाराबाजी र बहिस्कार भइरहनु अनुचित छ।
यो बैठक अनावश्यक हठ, विरोध र असंसदीय व्यवहार प्रदर्शन नगर्न र संसदको मर्यादा एवं गरिमालाई कायम राख्न सम्बन्धित दल र सांसदहरूको गम्भीर ध्यानाकर्षण गर्छ।
३. दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको प्रारम्भिक रिपोर्टले देशमा उत्साह र आशाको सञ्चार भएको छ। देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर छ।
दैलेखको पेट्रोलियम भण्डार र नवलपुरको धौवादी फलामखानी जस्ता परियोजनाहरूको अध्ययन र निर्माणका लागि निरन्तर नेतृत्व गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको योगदानको विशेष स्मरण गर्दै यो बैठक मिथेन ग्यास र फलामखानी परियोजनालाई तीव्रता साथ अगाडि बढाउन, दुवैको व्यावसायिक उत्पादनका लागि पर्याप्त लगानी, संरचनात्मक व्यवस्था र बजार व्यवस्थापन गर्न र अन्य आवश्यक तयारीका लागि सरकारको ध्यानाकर्षण गर्छ।
४. बर्खायाम सुरू भएसँगै पूर्व–पश्चिम राजमार्गको दुम्किबास–दाउन्ने खण्ड र विपी राजमार्गको रोशी–नेपालथोक खण्डलगायत राष्ट्रिय र सहायक राजमार्गका विभिन्न स्थानहरू पहिरो र बाढीले बारम्बार अवरूद्ध भइरहेका छन्। यसले नागरिकहरूको आवागमन लगायत आपूर्ति व्यवस्थामा समेत समस्या पैदा भएको छ।
यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान समेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन यो बैठक सरकारको ध्यानाकर्षण गर्छ। साथै सिंगो पार्टीपंक्तिलाई विपद व्यवस्थापनका काममा तम्तयार अवस्थामा रहन र विपदका बेलामा आ–आफ्नो ठाउँबाट परिचालित हुनसमेत बैठक आह्वान गर्छ।
५. केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पर्वत जिल्लाका स्थापित कम्युनिस्ट नेता कमरेड गणेश पौडेलको यही असार ८ गते ८२ वर्षको उमेरमा भएको निधनबाट पार्टी दुःखी भएको छ। पर्वत र गण्डकी क्षेत्रकै कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड गणेश पौडेलको निधनले त्यहाँको पार्टी काममा क्षति पुगेको छ। केन्द्रीय सचिवालयको यो बैठक कमरेड गणेश पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्छ।
त्यसैगरी पार्टी स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितकी जीवनसंगिनी एवं प्रतिबद्ध पार्टी कार्यकर्ता कमरेड विमला महतको गत जेठ १५ गते भएको असामयिक निधनबाट पार्टी निकै दुःखित भएको छ। केन्द्रीय सचिवालय कमरेड विमला महतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नीवियोगमा पर्नुभएका कमरेड लालबाबु पण्डित लगायत शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्छ।