निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणाको तयारी थालेपछि दलहरूले पनि आन्तरिक छलफल सुरू गरेका छन्।
यही क्रममा मधेस केन्द्रित सात दल सहभागी संघीय लोकतान्त्रिक मञ्चले पनि छलफल थालेको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दिएको जानकारी अनुसार रूपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसहितका विषयमा छलफल गर्न मोर्चाको बैठक सुरू भएको हो।
‘रेशम चौधरीजीको अध्यक्षतामा बैठक लाजिम्पाटमा भइरहेको छ,’ श्रेष्ठले भनिन्, ‘उपनिर्वाचनसहितका विषयमा छलफल हुन्छ।’
श्रेष्ठले २०७९ को निर्वाचनमा रूपन्देही ३ मा नाउपाले राम्रो मत ल्याएको र उपनिर्वाचनमा मोर्चासहितको उम्मेदवारीबारे छलफल गर्न बैठक भइरहेको हो।
बैठकमा रेशम चौधरीसहित नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, अरूण चौधरी, लालबीर चौधरी, मनिष सुमन लगायतका नेता सहभागी छन्।