उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका कांग्रेसजस्ता पुराना दलहरुलाई जनताले अहिले पनि प्रश्न गरिरहेको अवस्थामा नयाँ र परीक्षण नै नभएका दलहरुले केही गर्न नसक्ने बताएका हुन्।
'भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौं,' उनले भने।
यत्तिका परीक्षामा पास हुँदा पनि कांग्रेसमाथि जनताले प्रश्न गरिरहेको उनले बताए।
'पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन्। परीक्षामा केही भएकै छैन, तिनीहरुकै मात्रै कुरा यहाँ हुने भयो भने देश कहाँ पुग्छ?,' उनले भने।
२००३ मा स्थापना भइ जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भन्ने आश गरेर पछिलाग्नु पनि तर्कसंगत नहुने उनले बताए।
'यसमा विचार गर्न जरुरी छ,' उनले भने।-न्युज एजेन्सी नेपाल