प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गरेका छन्।
स्पेनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ।
-1751120135.jpg)
-1751120136.jpg)
-1751120135.jpg)
-1751120136.jpg)
-1751120137.jpg)
-1751120137.jpg)