नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालका बारे टिकाटीप्पणी नगर्न आग्रह गरेको छ।
आइतबार सर्कुलर जारी गर्दै पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी नबोल्न आग्रह गरेका हुन्।
'पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,' भुसालले भनेका छन्, 'पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिन सबैलाई आग्रह छ।'
शनिबार तिलोत्तमामा एकीकृत समाजवादी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टीकी नेता रामकुमारी झाक्रीले अध्यक्ष नेपाललाई समस्या परेको बताएकी थिइन्।
उनले अध्यक्ष नै फेर्नुपर्ने भन्दै अर्ली महाधिवेशन माग गरेकी थिइन्।
'तपाईंहरू सबैलाई थाहा छ- पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो', उनले भनेकी थिइन्, 'संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔं।'
यस्तै, झाक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताएकी थिइन्।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनेकी थिइन्। उनको यो अभिव्यक्तिपछि पार्टीभित्र आलोचना भइरहेको छ।
त्यसपछि महासचिव भुसालले सर्कुलर जारी गरेका हुन्।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा प्रकरणमा मुद्दा दायर भएसँगै माधवकुमार नेपालको सांसद पद निलम्बनमा छ। उनलाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।