सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरू गरेको छ।
बुधबार भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि बबरमहलस्थित जल तथा मौसम विभागको कार्यालयमा पहिलो बैठक बसेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
समितिले कार्यादेश अनुसार आजदेखि काम थालेको हो।
छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको थियो। असार ९ गते छानबिन समिति गठन भएको थियो।
यसअघि भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध उत्पन्न भएपछि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच जेठ ३० गते दुईबुँदे सहमतिमा हस्ताक्षर भएको थियो।
सहमतिको पहिलो बुँदामा भनिएको थियो, 'भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।'
दोस्रो बुँदामा 'अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने' उल्लेख थियो।