नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका नेताहरूलाई खुइल्याएर पार्टी बलियो हुन नसक्ने बताएका छन्।
सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै खतिवडाले सभापतिदेखि पदाधिकारीहरूलाई खुल्याउँदा पार्टी कहाँ पुग्छ भन्ने प्रश्नसमेत गरेका छन्।
‘कसैले सभापतिलाई, कसैले उपसभापति र महामन्त्रीलाई खुइल्याउने, अनि पार्टी कहाँ पुग्छ?,’ खतिवडाको प्रश्न छ, ‘यो पार्टी सबैको हो।’
केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापाप्रति 'हिंसात्मक अभिव्यक्ति' दिएका थिए भने नेता शेखर कोइरालाले विनोद चौधरीको केन्द्रीय सदस्यको भूमिकामाथि प्रश्न उठाएका थिए। यही सेरोफेरोमा केन्द्रित रहेर नेताहरूले आफ्ना गुटअनुसार धारणा राखिरहेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले पार्टीले निर्देशन दिएका खण्डमा समितिको सभापतिको जिम्मेवारीबाट अलग हुने पनि बताए।
‘पार्टीले भन्छ भने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट अलग हुन्छु,’ उनले भने, ‘हाम्रै पार्टीका सांसदहरूले पनि आलोचना गर्नुभएको छ, म पार्टीले पठाएर त्यो जिम्मेवारीमा गएको हो। पार्टीले भन्छ भने म सभापतिबाट अलग हुन्छु।’
राज्य व्यवस्था समितिमा सांसदहरूले सभापति खतिवडाको भूमिकामाथि पनि प्रश्न उठाएका थिए।
निजामती विधेयकमा रहेको कुलिङ पिरियडबारे समितिले गरेको निर्णयसँग बाझिने गरी विधेयक प्रतिनिधि सभाबाट पारित भएको भन्दै आलोचना भइरहेको छ।