नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउन माग गरेका छन्।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलमा बोल्दै सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताएका हन्।
सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने अवस्था आउने उनले बताए।
'अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ,’ उनले भने।
—न्युज एजेन्सी नेपाल