संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन्।
विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन्।
उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए।
'अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ। हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ। एउटा हाम्रो स्पेसको सीमाको कारण हो। सिमितताको कारण एउटा हो। हामीले आफूले ध्यान दिनुपर्ने कुरा यो हो। यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले। तर यस पटक ९५ लाख यात्रुहरु ओहोरदोहोर गरेका छन्। यसले पनि खचाखच हुने अवस्था छ। दोब्बर भन्दा बढी त्यसले धान्नुपरिरहेको अवस्था छ। त्यसका बाबजुत पनि छरितो र प्रभावकारी बनाउने कुरामा हामी सल्लाह गरेरै तद्तद् ठाउँबाट गर्नुपर्ने काममा हामी पहलकदमी गर्नेछौ,' उनले भने।
मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए। चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको बताए। —न्युज एजेन्सी नेपाल