नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले नोटिसमा राख्नुपर्ने बताएका छन्।
पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग नै जोडिने पनि निधिले बताए।
सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै निधिले भने, ‘अहिले एउटा विषय आएको छ सभापतिजी, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने।एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला। तर मेरो बुझाइ के छ भने- यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन। यो प्रणालीसँग सम्बन्धित विषय हो। हामीले जुन प्रणाली ल्याएका छौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्राटुक्रा हुन्छ कि त्यो फरक विषय हो। तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै नेकपा (एमाले) मा सदस्यता नवीकरण गराएकी थिइन्।